Pet Education

किन पाल्ने घरमा कुकुर, के हुन खास फाइदा ?

By Yogi sir
Jul 17, 2025
2 min read

ऐजेन्सी। उसो त नेपाली समाजमा कुकुर हरेक परिवारको साथीजस्तै हो। गाउँदेखि सहरसम्मका प्राय घर यस्ता थिए र छन्- जहाँ कुकुर नभएको घर प्राय हुँदैन ।

किसान परिवारका लागि त झन कुकुर साथी मात्र होइन, एक असल सहयोगी र दुःखको सारथी पनि हो।

एकान्त गाउँघरहरुमा लगाएको खेती बाँदर लगायत जंगली जनाबरबाट जोगाउन आज पनि कुकुर नै सहारा हुनेगरेको छ।

कुकुर पाल्न धेरैलाई मन पर्छ। सहरमुखी बन्दै गएको नेपाली समाजमै पनि एकान्तको साथी कुकुर बन्न थालेको छ।

विदेशतिर त झन यो उहिल्यैदेखि निकै भरपर्दो र मायालु जनावरका रुपमा पालिँदै आएको छ।

स्वास्थ्यका लागि सहयोगी

स्वास्थ्यका हिसाबले पनि कुकुर नपाल्नेभन्दा पाल्नेहरू शारीरिक र मानसिक रुपमा बढी सक्रिय हुने हुनाले उनीहरु लामो समय बाँच्ने, स्वस्थ जीवन जिउने गरेको पाइएको छ।

जसले रक्तचाप नियन्त्रणमा राख्ने, कोलेस्ट्रोल घटाउने र मुटु सम्बन्धी रोगको जोखिम कम गर्ने लगायतका स्वास्थ्य सम्बन्धी फाइदाहरूबारे पनि पुष्टि भइसकेको छ ।

अमेरिकन सँस्था हर्ट एसोसिएसनले कही वर्ष अघि नै गरेको एक अध्ययनले घरेलु जनावर पाल्ने मान्छेहरुमा मुटुरोगको सम्भावना कम हुने तथ्य बाहिर ल्याइसकेको छ।

अध्ययन अनुसार कुकुर पाल्ने परिवारमा हृदयाघात हुने सम्भावना कम रहेको देखाएको हो।

अर्को संस्था बार्कपोस्टले घरमा कुकुर पाल्नुका फाइदाबारे वैज्ञानिक रुपमा प्रमाणित ५ तथ्य सार्वजनिक गरेको छ।

– निराश कम गर्न सहयोगी : कुकुरसँग आधा घन्टाजति समय बिताउने मानिसमा तनाव कम हुन्छ। तनाव कम हुनु भनेकै मानिस खुसी मुडमा हुनु हो। कुकरसँग खेल्नाले मानिसको मस्तिष्कमा खुशी र आनन्दसँग सम्बन्धित डोपामाइन र सेरोटोनिनको मात्रा बढाउँछ। यसले मानिसमा रहेको निराशा हटाउन सहयोग गर्छ।

– मुटुसम्बन्धि जोखिम कम : कुकुरसँग खेल्दा र कुकुरलाई डोराएर हिँड्दा रक्तचाप घटाउन सहयोग पुग्छ। कुकुरसँग हिँड्दा कसरत हुने भएकाले मुटुसम्बन्धी रोगको जोखिम कम हुन्छ।

– छालासम्बन्धि रोग कम हुन्छ : कुकुरसँग खेल्दै हुर्किने बालबालिकालाई लुतो तथा छालामा हुने एलर्जीले सताउने सम्भावना कम हुन्छ।

– कुकुर घरमा छ भने मानिसको साथीजस्तै हुन्छ। यसले एक्लोपना हुँदैन र मानिस तनाव (डिप्रेशन)बाट मुक्त हुन्छन्।

सामाजिक र साँस्कृतिक पक्ष

कुकुर तिहारमा घरघरमा पूजा गरेर मीठोमीठो खान दिइने कुकुरलाई यमराजको दूतका रुपमा पनि मानिन्छ।

घरको रेखदेख मात्र होइन कुकुरले अपराधी पत्ता लगाउ र अनुसन्धान गर्न निकै प्रभावकारी भूमिका निभाउने गरेको छ।

मानिसको आज्ञापालक र रक्षकका रुपमा काम गर्दै आएको कुकुरले प्राकृतिक एवं दैवी विपत्तिमा पूर्वसूचना दिन्छ। यसको ग्राहण शक्ति मानिस र अरु जनावरको भन्दा तेज हुन्छ। जसले भूकम्प, बाढी, पहिरोजस्ता विपत्तिको पूर्व संकेत गर्नेगर्छ। कुकुरलाई भैरवको बाहन मानिन्छ।

– कुकुर भएको घरका बालबालिका चलाख र मायालु स्वभावका हुन्छन्

– कुकुर भएपछि परिवारले सरक्षा महसुस गर्छ

– दिक्कलाग्दो वातावरण सिर्जना हुनबाट जोगाउँछ

– जोखिमबाट बचाउन कुकुरले भरपुर साथ दिन्छ।